बेनी,साउन -३१, म्याग्दीमा लगातारको वर्षापछि पहिरो र सडकको बेस बगाउँदा बेनी–दरबाङ र बेनी–जोमसोम सडकखण्डका तीन स्थानमा यातायात अवरुद्ध भएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ५ः३० बजे बेनी नगरपालिका–४ घुमाउने भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। त्यस्तै, रघुगंगा गाउँपालिका–२ बैसरीमा लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–७ महभीरमा सडकको बेस नै बगाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। तीनवटै स्थानमा सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावत प्रभावित भएको छ।
सडक खुलाउन सम्बन्धित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ। पहिरो तथा सडकको क्षतिको अवस्था हेरेर आवश्यक जनशक्ति तथा उपकरणको प्रयोग गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
वर्षा निरन्तर भइरहेकाले पहिरो खस्ने तथा सडक थप क्षति हुने सम्भावना रहेकाले यी सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।













