पर्वत, असोज-३१, गृह मन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालकै उत्कृष्ट बन्न सफल भएको छ। आर्थिक वर्ष २०८१/०८२ को मूल्यांकनमा पर्वतले सबैभन्दा बढी ९५ दशमलव ७१ अंक प्राप्त गर्दै देशभरकै अग्रस्थान हासिल गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रोमा १९ दशमलव २५, तेस्रोमा १७ दशमलव ८७, र अन्तिम त्रैमासिकमा २९ दशमलव ५२ अंक प्राप्त गरेको थियो।
केवल सात महिना अघि पर्वतमा सरुवा भएर आउनुभएका प्रजिअ घिमिरेका अनुसार, कार्यालयले सेवा प्रवाहमा पारदर्शिता, दक्ष जनशक्तिको परिचालन र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ।
उहाँले यो उपलब्धी संपूर्ण कर्मचारी टोली र सरोकारवालाको सहकार्यको परिणाम भएको बताउनुभयो। उपलब्धीले अझ प्रभावकारी सेवा प्रवाह गर्ने हौसला थपेको उहाँको भनाइ छ।
गृह मन्त्रालयका अनुसार, कार्यसम्पादन मूल्यांकनमा भक्तपुर दोस्रो, नुवाकोट तेस्रो, र मनाङ चौथो स्थानमा रहेका छन्।
त्यस्तै, सबैभन्दा कम अंक प्राप्त गर्दै पाँचथर अन्तिम स्थानमा परेको छ।















