म्याग्दी, धवलागिरि, बैसाख-९, ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको आयोजनामा आयोजित विशेष समारोहबीच औपचारिक रूपमा घोषणा गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीका अनुसार, गाउँपालिकाभित्र १६ महिनादेखि ५९ महिनासम्मका ६३१ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार सबै १३ प्रकारका खोपको मात्रा पूरा गरेका छन्। ती खोपहरूमा पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायतका खोप समावेश छन्। साथै, १५ महिनाभन्दा मुनिका बालबालिकाले पनि नियमित खोप प्राप्त गरिरहेका छन्।
पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गर्न वडास्तरमा कार्यक्रम सञ्चालन गर्दै चैत १७ गतेदेखि सातवटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको थियो। यसक्रममा प्रत्येक घरधुरीमा सर्वेक्षण गरी ५९ महिनासम्मका बालबालिकाको विवरण संकलन गरिएको थियो। खोप अभियानपछिको पुनः सर्वेक्षणमार्फत पनि सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको प्रमाणित भएपछि पालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
घोषणा समारोहको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख तथा जिल्ला खोप समन्वय समितिकी संयोजक दिलकुमारी खत्रीले गर्नुभयो। उहाँले विकट भूगोलमा रहेका वस्तीहरुमा समेत पूर्णखोप सुनिश्चितता कायम गरिनु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको बताउँदै आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नारासहित खोप कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खोपले मानव स्वास्थ्य र दीर्घकालीन जीवनस्तरमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गर्दै सम्पूर्ण जनसमुदायको सहकार्य अपेक्षित रहेको बताउनुभयो।
कार्यक्रममा उपाध्यक्ष रेशम पुन मगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडानम्बर ३ का अध्यक्ष तथा प्रवक्ता देवेन्द्र रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो।
उक्त अवसरमा खोप अभियानमा उल्लेखनीय योगदान गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा फोकल पर्सनहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साथै, कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।
गण्डकी प्रदेशमै पहिलोपटक पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित हुने गौरव धवलागिरिले प्राप्त गरेको गाउँपालिकाले जनाएको छ।