Advertisement

बेगखोलामा अवैध क्रसर उत्खनन, १७ लाख ५३ हजार रुपैयाँ बराबरको नदीजन्य पदार्थ जफत हुने

Share:

बेनी, असोज-२५,  म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा अवैध रूपमा उत्खनन गरिएको नदीजन्य पदार्थ जफत हुने भएको छ। अनुगमन टोलीले बेगखोलामा लुकिछिपी संकलन गरिएको बालुवा र अन्य नदीजन्य पदार्थको स्थलगत नापजाँच गर्दा १७ लाख ५३ हजार ५० रुपैयाँ बराबरको मालसामानको जफत आवश्यक देखिएको छ।

गएको असोज ६ गते प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा गरिएको अनुगमनमा जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापासहितको टोली उपस्थित थियो। स्थलगत अनुगमनपछि प्राविधिक टोलीले बेगखोलामा दोहन भएको नदीजन्य पदार्थ जफत गर्नुपर्ने प्रतिवेदन पेश गरेको हो।

जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख खत्रीका अनुसार, ‘प्रतिवेदन अनुसार जफत गरी राजस्व संकलनका लागि गाउँपालिकामा पत्र पठाइएको छ। बगरबाट अवैध उत्खनन रोक्न समेत निर्देशन दिइएको छ।’

प्रमुख जिल्ला अधिकारी तिवारीले भनेका छन्, ‘निश्चित समयका लागि मात्र क्रसरले उत्खनन गर्न पाउँछन्। नदीजन्य पदार्थको उत्खननमा सधैं निगरानी हुन्छ। अवैध उत्खननमा स्थानीय तहले पनि निगरानी गर्नुपर्नेछ।’

म्याग्दी र कालिगण्डकी नदीमा रहेका क्रसर उद्योगले अवैध उत्खनन गरी राज्यलाई कर छली गर्ने क्रम जारी रहँदा, स्थानीय तहले हरेक वर्ष लाखौं रुपैयाँ राजस्व गुमाउने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस: