बेनी, साउन ३१, म्याग्दीको बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। ‘महिला वर्गको समृद्धि, सशक्तीकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित सम्पन्न साधारणसभामा संस्थाको प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको छ।
साधारणसभाको बन्दसत्रमा संस्थाका अध्यक्ष सुगम श्रेष्ठले प्रस्तुत गर्नुभएको संस्थागत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कमला खत्री जिसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ।

वि.सं. २०६८ सालमा स्थापना भएको सहकारीमा हाल ८ सय ६३ जना शेयर सदस्य आबद्ध छन्। गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको शेयर पुँजी ३ करोड ६१ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यस्तै, सहकारीले ८ करोड २६ लाख ९२ हजार ३ सय ७१ रुपैयाँ ६६ पैसा ऋण लगानी गरेको छ भने ७ करोड २२ लाख ७५ हजार २ सय ५० रुपैयाँ ४५ पैसा बचत तथा निक्षेप सङ्कलन गरेको छ। संस्थाको जगेडा कोषमा ७५ लाख ५० हजार २५ रुपैयाँ ८१ पैसा र विभिन्न कोषमा २८ लाख ८३ हजार ३ सय ९८ रुपैयाँ ३२ पैसा रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सहकारीले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादन तथा व्यावसायिक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीमार्फत समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
बेनी नगरपालिकाका नगर उपप्रमुख तथा सहकारीका पूर्व अध्यक्ष ज्योति लामिछानेले दिदीबहिनी सहकारीले स्थापनाकालदेखि नै आर्थिक कारोबारसँगै सामाजिक गतिविधिलाई समेत निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले सहकारी क्षेत्रमा देखिएका पछिल्ला समस्या समाधान तथा व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र सहकारीका शेयर सदस्य प्रमिला जोशी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो। सहकारीका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्ता जमुना आचार्यले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो।
साधारणसभाको अवसरमा सहकारीले सञ्चालन गरेको ‘मुठ्ठीदान अभियान’ अन्तर्गत तीन जनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिएको छ।
त्यस्तै, संस्थामा उत्कृष्ट कार्य गरेको भन्दै लेखापाल शान्ता जिसी बरुवाललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ। उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य तथा प्लस टु तहमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने शेयर सदस्यका एक–एक जना छोराछोरीलाई समेत सम्मान गरिएको सहकारीले जनाएको छ।
सहकारीका अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष जगतकुमारी खत्रीको स्वागत र सचिव अम्बिका श्रेष्ठको सञ्चालनमा साधारणसभा सम्पन्न भएको हो।
Continue using AI Cursor?Keep it onTurn Off














