जलजला, चैत-२४, पर्वत जिल्लाको जलजला गाउँपालिका–३ बगरफाँटमा १० दिने पतञ्जली योग शिविर सुरु भएको छ। पतञ्जली योग केन्द्र म्याग्दी द्वारा सञ्चालन गरिएको उक्त शिविरमा महिला पतञ्जली योग समितिकी सहकेन्द्रीय प्रभारी अर्चना घिमिरे ले मुख्य प्रशिक्षण दिइरहनुभएको छ।
शिविरमा सहायक प्रशिक्षकका रूपमा सुमन कार्की र डम्मर कार्की ले समेत प्रशिक्षण प्रदान गरिरहनुभएको छ। जलजला गाउँपालिका–३ वडा कार्यालयले शिविर सञ्चालनका लागि आवश्यक म्याट्रेस तथा अन्य सामग्री उपलब्ध गराएको आयोजकले जनाएको छ। शिविर प्रत्येक दिन बिहान ५:०० बजेदेखि ६:३० बजेसम्म प्रयोगात्मक अभ्यास तथा बेलुका ५:३० बजेदेखि ६:३० बजेसम्म सैद्धान्तिक कक्षा सञ्चालन हुने छ।
आयोजकका अनुसार योग तथा ध्यानले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले समुदायमा यसको अभ्यास विस्तार गर्न शिविर आयोजना गरिएको हो। साथै आत्मअनुशासन र सकारात्मक जीवनशैली विकासमा समेत योगको महत्वपूर्ण योगदान रहने विश्वास गरिएको छ।
स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको यस शिविरले स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।














