बेनी, म्याग्दी, भदौ -३, जिल्ला प्रहरी कार्यालय म्याग्दीले साउन महिनामा अपराध नियन्त्रण, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सेवातर्फ विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ।
बुधबार पत्रकार सम्मेलन गरी साउन महिनाभरि सम्पादन गरेका गतिविधि तथा गत आर्थिक वर्षको समग्र कार्यसम्पादनको जानकारी सार्वजनिक गरेको हो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजन कार्कीले यससम्बन्धी जानकारी दिनुभयो।

प्रहरीका अनुसार साउनमा विभिन्न प्रकृतिका १५ वटा मुद्दा दर्ता भएका छन् भने ती मुद्दामा संलग्न ३२ जना प्रतिवादी पक्राउ परेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३, आर्थिक अपराधका ४ र अन्य ८ वटा मुद्दा दर्ता भएका हुन्।
जुवातास नियन्त्रण अभियानअन्तर्गत २८ जना ३ लाख ४३ हजार ८२५ रुपैयाँसहित पक्राउ परेका थिए। त्यस्तै, ज्यान मार्ने उद्योग र जबरजस्ती करणी सम्बन्धी घटनामा समेत प्रहरीले आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको जनाएको छ।
अवैध हतियार नियन्त्रणतर्फ ‘Bravo Sierra Operation’ अन्तर्गत साउनमा ५ थान भरुवा बन्दुक बरामद गरिएको छ। अभियानअन्तर्गत हालसम्म १६३ थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।
साउनमा सवारी दुर्घटना शून्य रहेको छ भने ट्राफिक नियम उल्लङ्घन गर्नेबाट ४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। विपद् व्यवस्थापनतर्फ बाढीका ४ र आगलागीका २ घटना भएका छन्। घटनामा २ जनाको मृत्यु, ४ जना घाइते र ६ जनाको उद्धार गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ३ वटा सवारी साधन नियन्त्रणमा लिई २ लाख २० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। हराएका ३ जनामध्ये १ जना फेला परेका छन् भने ६ वटा ठाडो उजुरीमध्ये सबै फर्छ्योट गरिएको छ।
अपराध न्यूनीकरणका लागि घरदैलो प्रहरी कार्यक्रम, सामुदायिक सचेतना, पर्चा वितरण, गस्ती, चेकिङ, LRP, नागरिक सुनुवाइ तथा विभिन्न अन्तरक्रिया सञ्चालन गरिएको प्रहरीले जनाएको छ। समुदाय–प्रहरी साझेदारीअन्तर्गत १३९ वटा कार्यक्रम सञ्चालन गरी २ हजार १४८ जनालाई सहभागी गराइएको छ।
त्यस्तै, साउनमा पिकेट, चेकिङ, ग्रामीण गस्ती, LRP र SRP गरी १ हजार २९७ पटक नियमित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

त्यसैगरी म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँ वर्षभरि स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत रहन्छ। पर्यटकीय स्थलको जानकारी, प्रहरीको उपस्थिति, खाना, आवास, यातायात, स्वास्थ्य र उद्दार जस्ता विषयमा सघाउ पुर्याउन नर्थ अन्नपूर्ण क्षेत्रमा पर्यटकका लागि QR कोडसहितको जानकारी सार्वजनिक गरिएको छ। यसले पर्यटकलाई आवश्यक जानकारी लिन थप सहज बनाएको बताइएको छ। यो सानो तर सान्दर्भिक पहलले प्रहरी केवल कानुन कार्यान्वयनमा मात्र होइन, सेवा र सुविधामा पनि उत्तिकै संवेदनशील रहेको देखाउँछ।












