Advertisement

राष्ट्रिय दोहोरीगीत प्रतियोगोतामा म्याग्दी प्रथम

Share:

बेनी, असोज-३१,  पश्चिम सुनवल–१३ बडेरा सुन्दर बस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव अन्तर्गत सम्पन्न खुला लोकदोहोरी प्रतियोगितामा म्यादी लोकदोहोरी समूहले पहिलो स्थान हासिल गरेको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा म्यादीले धादिङलाई पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो।

विजेता म्यादी समूहले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्ने धादिङ समूहले ५० हजार रुपैयाँ पाएको छ। तेस्रो स्थानका लागि नवलपरासी र काठमाडौंबीच प्रतिस्पर्धा हुँदा दुवैले समान अंक प्राप्त गरेपछि दुवै समूहलाई तेस्रो पुरस्कार प्रदान गरिएको अध्यक्ष श्यामकला भण्डारीले जानकारी दिइन्। तेस्रो स्थानका विजेताले ३१ हजार रुपैयाँ र सान्त्वना पुरस्कारका रूपमा २१ हजार रुपैयाँ प्रदान गरिएको छ।

प्रतियोगितामा कुल १६ समूह सहभागी भएका थिए। महोत्सवमा लोकदोहोरी प्रतियोगितासँगै लोक गीत, लोक नृत्य, बाल उद्यान, विभिन्न जातजाति र भाषाभाषीका सांस्कृतिक प्रस्तुति पनि प्रमुख आकर्षणका रूपमा रहेका छन्।

महोत्सवको उद्देश्य लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नवलपरासीका धार्मिक तथा पर्यटकीय स्थलहरू प्रचार–प्रसार गर्न र निर्माणाधीन लोक सांस्कृतिक संग्रहालयका लागि सहयोग जुटाउनु रहेको मेला व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले बताए।

संग्रहालय निर्माण कार्य सुनवल–११ मामी सतीसवरीयामा सुरु भइसकेको छ। असोज २३ गतेदेखि सञ्चालनमा आएको महोत्सव कात्तिक २ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस: