Advertisement

बेनी नगरपालिकामा अन्तरविद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Share:

बेनी नगरपालिकामा अन्तरविद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार–स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित बिहीबारदेखि प्रतियोगिता सञ्चालन गरिएको हो।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भित्रका २७ विद्यालयको सहभागिता रहेको छ। सामुदायिकतर्फ २० र संस्थागततर्फ ७ विद्यालय सहभागी छन्।

एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डी गरी चार खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन खेल अन्तर्गत १५ सय मिटर दौडमा छात्रतर्फ न्यू वेष्ट प्वाइन्ट माविका सक्षम बोहोरा र छात्रातर्फ राष्ट्रिय मावि नेप्टेचौरकी अञ्जली खत्रीले प्रथम स्थान प्राप्त गरेका छन्।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभयो। उहाँले विद्यार्थी खेलाडीको पसिना देशको गौरव भएको बताउनुभयो।
नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले खेलकुदले विद्यार्थीमा अनुशासन र सहकार्यको भावना विकास गर्ने धारणा राख्नुभयो।

शनिवारसम्म चल्ने प्रतियोगितामा प्रथम विद्यालयले रनिङ शिल्डसहित ५१ हजार रुपैयाँ, द्वितीय र तृतीयले क्रमशः ४० र ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस: