देवी जिसी/अन्नपुर्ण, जेठ-२०, म्याग्दीमा जारी अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगिताको उपाधि कुशल पुर्जाले जित्नुभएको छ। अन्नपूर्ण गाउँपालिका-७ घराम्दीका २४ वर्षीय पुर्जाले करिब ३६ किलोमिटरको दूरी २ घण्टा ४७ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै यो महत्वपूर्ण दौडको उपाधि हात पार्नुभएको हो।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट बिहान ६ः३० बजे सुरु भएको यो म्याराथन दौडमा ४० जना धावकहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका-६ घारका २४ वर्षीय लोकबहादुर बरुवाल २ घण्टा ५२ मिनेट ५१ सेकेन्डका साथ दोस्रो स्थानमा रहनुभयो, भने सोही वडाका सञ्जयबहादुर बरुवालले ३ घण्टा ८ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थान हासिल गर्नुभयो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको उपलक्ष्यमा यस म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो। म्याराथन दौड प्रतियोगिताका व्यवस्थापन संयोजक इन्द्रसिंह शेरचनका अनुसार, यस प्रतियोगितामा जिल्ला भित्रका स्थानीय तहबाट मात्र धावकहरुको सहभागिता रहेको थियो। अन्नपूर्ण गाउँपालिकाका प्रत्येक वडाबाट पाँच/पाँच जना र अन्य स्थानीय तहबाट दुई/दुई जनाका दरले धावकहरुले भाग लिएका थिए।
आधार शिविरबाट सुरु भएको यो दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा, मालारानी, बाँस्कोट हुँदै नारच्याङको बेंसी गाउँसम्म आएर समापन भएको थियो।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिनेछ। आज नारच्याङमा आयोजना गरिएको अन्नपूर्ण हीरक महोत्सवको मूल कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुहुनेछ।
यही जेठ १६ देखि २२ गतेसम्म विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको छ। अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा यो महोत्सव आयोजना गरिएको हो।














