देवी जिसी /बेनी, म्याग्दी – स्थानीय सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूले खेलकुदमार्फत आपसी सहकार्य र सद्भाव सुदृढ गर्दै उदाहरणीय कदम चालेका छन्। विश्व प्रेस स्वतन्त्र दिवसको सन्देश फैलाउने उद्देश्यसहित शनिबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताले म्याग्दीका सञ्चारकर्मीहरूलाई एउटै मैदानमा उभ्यायो।
मार्स मल्टिमिडिया हाउस प्रालिद्वारा सञ्चालित म्याग्दी टाइम्स डटकमको औपचारिक शुभारम्भको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा म्याग्दी मिडिया सोसाइटी विजेता बन्यो। फाइनल खेलमा नेपाल पत्रकार महासंघ म्याग्दी ‘ए’ टोलीलाई ३–२ गोलले पराजित गर्दै मिडिया सोसाइटीले उपाधि चुम्यो।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता मिडिया सोसाइटीका किरण कार्की घोषित भए भने पत्रकार महासंघका गोलरक्षक कृष्ण कार्की उत्कृष्ट खेलाडी बने।
शुभारम्भ समारोहमा बेनी नगरपालिकाका मेयर तथा पत्रकार महासंघ म्याग्दीका पूर्वअध्यक्ष सुरत केसीले स्थानीय सञ्चारमाध्यमलाई लोकतन्त्रको चौथो अंगका रूपमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सञ्चारमा आलोचना र प्रशंसा सत्य र तथ्यमा आधारित हुनुपर्ने कुरामा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, मिडिया सोसाइटी अध्यक्ष अमित विश्वकर्मा, लोकदोहोरी प्रतिष्ठान म्याग्दी अध्यक्ष ध्रुव जिसीलगायतको उपस्थिति रहेको सो कार्यक्रममा विजेता तथा उपविजेतालाई ट्रफी र मेडल प्रदान गरियो।
स्थानीय सञ्चार संस्थाहरूको सहकार्य, सृजनशीलता र प्रतिस्पर्धामार्फत उत्पन्न सकारात्मक ऊर्जा भविष्यमा पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो।