Advertisement

भकुन्डेमा धुप बनाउने तालिम सुरु, महिलाको सशक्तिकरण र आयआर्जनमा टेवा पुग्ने अपेक्षा

Share:

देवी जिसी /म्याग्दी, बैशाख-१३,– बेनी नगरपालिका–२ भकुन्डेमा वडा स्तरीय मूल आमा समूहको आयोजनामा धुप बनाउने ४ दिने सीपमूलक तालिम सुरु भएको छ। भौगोलिक असहजतालाई ध्यानमा राख्दै तालिमका दुई दिन भकुन्डे र बाँकी दुई दिन लभ्ली हिलमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि यामबहादुर कार्कीले तालिमले महिला सशक्तिकरण, सीप विकास र आयआर्जनमा मद्दत गर्ने विश्वास व्यक्त गर्दै सहभागी महिलालाई तालिममा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो। उहाँले महिलालाई लक्षित गरी वडा कार्यालयले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी पनि दिनुभयो।

कार्यक्रममा बोल्दै विशेष अतिथि वविता सापकोटाले, “मूल आमा समूहले विगतदेखि महिला सशक्तिकरण र सचेतनामूलक गतिविधिहरू गर्दै आएको छ। यो तालिम पनि त्यही अभियानको एक महत्वपूर्ण पाटो हो,” भन्दै महिलाले आत्मनिर्भरता हासिल गर्न यस्ता सीप उपयोगी हुने बताउनुभयो।

त्यसैगरी बेनी नगरपालिका वडा नं ७ का सदस्य तथा प्रशिक्षक सिर्जना श्रेष्ठले स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने धुप तथा अगरबत्ती अहिले धार्मिक प्रयोजनका साथै महायज्ञहरूमा समेत प्रयोग हुने बताउँदै, “यस्ता सीपले घरेलु उद्योगको विकास र स्वरोजगार सृजनामा सकारात्मक प्रभाव पार्नेछ,” भन्नुभयो।

तालिमको उद्घाटन कार्यक्रम मूल आमा समूह सञ्जालकी अध्यक्ष पवित्रा कार्कीको अध्यक्षता, वडा नं. २ का अध्यक्ष यामबहादुर कार्कीको  प्रमुख आतिथ्यता, मूल आमा समूह सञ्जालकी सचिव गीता शर्माको स्वागत र सामाजिक परिचालक उमा रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

चार दिने तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ। तालिमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन थप प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस: