देवी जिसी/बेनी, चैत-२५, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ म्याग्दीको सातौं जिल्ला परिषद सोमबार बेनीमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा फेकोफन संघीय सचिवालय सदस्य डोब बहादुर कार्कीले सामुदायिक बनको अवधारणाले बन संरक्षण र उपभोगमा समुदायलाई अधिकार सम्पन्न बनाएको बताउनुभयो।
उहाँले सामुदायिक बन नहुँदा बन रक्षकलाई गोली चलाउने अधिकार दिइने अवस्था रहेको स्मरण गर्दै सामुदायिकलाई बनको जिम्मेवारी दिइएपछि संरक्षण र व्यवस्थापनमा आम नागरिकको सक्रियता बढेको उल्लेख गर्नुभयो। उहाँका अनुसार सामुदायिक बन नीतिगत रूपमा अहिले धेरै लाभदायक बनेको छ।
कार्यक्रममा फेकोफन केन्द्रीय सदस्य पशुपति शाहीले म्याग्दीमा हाल मालिका र मंगल गाउँपालिकामा मात्र वन ऐन लागूभएको जानकारी दिँदै फेकोफन नेतृत्व विकास गराउने संस्था समेत भएको उल्लेख गर्नुभयो।
त्यसैगरी फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुबेदीले सामुदायिक बन अवधारणाले बन क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँले यो अभियानमा समुदायको निरन्तर सहभागिता आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले नेपालका धेरैजसो सामुदायिक बन उपभोक्ता समूहमा महिलाले नेतृत्व गरिरहेको र उनीहरूको नेतृत्व सक्षम तथा सबल रहेको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै बेनी नगरपालिका सामुदायिक बन महासंघका प्रकाश बानियाले बन क्षेत्रमा फलफूल, ओखर लगायतका वनस्पति रोप्न सकेमा आर्थिक लाभ लिन सकिने र बाँदर जस्ता बन्यजन्तुको नियन्त्रणमा पनि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
जिल्ला परिषदमा फेकोफन म्याग्दीकी अध्यक्ष सुन्तली जिसीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव मुक्ति खड्काले सांगठानिक प्रतिवेदन पेश गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला बन अधिकृत विष्णुप्रसाद अधिकारी, फेकोफन गण्डकी प्रदेशका महासचिव आँसु विक लगायतले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम फेकोफन म्याग्दीकी अध्यक्ष सुन्तली जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रकाश बानियाले र सञ्चालन सचिव मुक्ति खड्काले गर्नुभएको थियो।