Advertisement

म्याग्दीको माटोलाई संसारभर चिनाउने डायस्पोराका हस्ती सुबेदी सम्मानित

Share:

देवी जिसी /म्याग्दी, चैत-१४,  म्याग्दीको ताकममा जन्मिएर नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारितामा अतुलनीय योगदान पुर्‍याउने डायस्पोराका हस्तीलाई म्याग्दीमा भव्य अभिनन्दन गरिएको छ। म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी सामुदायिक पुस्तकालय, म्याग्दी साहित्यिक समाज, धनेश्वरी तारानाथ स्मृति कोष म्याग्दी, पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दी र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा साहित्यकार होमनाथ सुबेदीलाई  अभिनन्दन गरिएको हो।

उनले दश उपन्यास, तीन महाकाव्य, चार समालोचनात्मक कृति, तीन कथा सङ्ग्रह, तीन लोककथा सङ्ग्रह, तीन खण्डकाव्य, पाँच कविता सङ्ग्रह, चार गजल तथा मुक्तक सङ्ग्रह, दुई पत्र साहित्य, चार सम्पादित कृति, बाह्र सहलेखन तथा सम्पादित कृति गरी साढे चार दर्जन कृति र पत्रपत्रिकाहरूमा सयौँ रचना प्रकाशित छन्।

अमेरिकामा रहँदा अमेरिका नेपाल सोसाइटी गठन गरी सोको मुखपत्रमा नेपाली साहित्यलाई स्थान छुट्याउनुभयो । सन् १९९२ मा नन्दा सुवेदीका साथमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन गरी सन् १९९४ देखि अन्तर्दृद्धि साहित्यिक पत्रिका प्रकाशन गर्नुभयो । आज अनेसास विश्वविख्यात नेपाली साहित्यक संस्थाको रूपमा विकसित छ जसले नेपाली भाषा साहित्यको निरन्तर सेवा गर्दै दर्जनौँ पुरस्कारहरू स्थापना गरिसकेको छ । आज अनेसासको इतिहास नामक ग्रन्थ पनि प्रकाशित छ । वर्तमान समयमा यहाँलाई अनेसासका पिता र स्वर्गीय नदादेवी सुवेदीलाई अनेसासकी माता भनेर सम्मान सम्मान गर्ने गरिन्छ ।

डायस्पोरिक साहित्यको नाम लिँदा आज सुबेदीको नाम अपरिहार्य उल्लेख गर्नुपर्ने हुन्छ । उहाँको  कृति यमपुरीको महल त्रिभुवन विश्वविद्यालयले स्नातक तह, शिक्षाशास्त्र सङ्कायको ऐच्छिक नेपाली विषयमा समावेश गरिसकेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा डायस्पोरा स्वर्ण तारा सम्मानले सम्मानित व्यक्तित्व सुबेदीलाई नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्दै सम्पूर्ण म्याग्दीबासी तथा देशवासीहरूको गौरव बढाउनुभएकामा उच्च मूल्याङ्कन  सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उहाँले  म्याग्दीको माटो र नेपाली भाषा साहित्यको सेवामा सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो  । म्याग्दीका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूले उहाँको योगदानको चर्चा गर्दै उहाँलाई डायस्पोराको हस्तीको रूपमा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस: