Advertisement

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

Share:

मंसिर महिनाको नाम सुन्नासाथै आज पनि मेरो मन फुरुङ्ग हुन्छ। यो महिनासँग गाँसिएका भावनाहरू, सम्झनाहरू र ती बाल्यकालका रमाइला दिनहरू सम्झिँदा मन कतै टाढा-घरको डिल, लेकाली हावा र पहाडे घामको बाहुलीमा पुगेर अड्किन्छ।

त्यतिबेला मंसिरको १५–२० तिर विद्यालयको वार्षिक परीक्षा सकिँदै हुन्थ्यो। लेकाली बस्तीमा यसै पनि मंसिर लागेपछि चिसोले सताउन थाल्थ्यो। बिहानको कोमल घाम, गहुँ–जौ उम्रिएर दुईपाते भएको बारी, अनि डिलैभरि फुलेका पैयुँका बोटयी सबै मिलेर मन पुलकित बनाउँथे। फुर्सदका दिनमा डन्डीबियो (हामीले लारी बियो भन्थ्यौँ) खेलेर गर्ने रमाइलो, यी सबै मिलेर मंसिरको हिउँदे फुर्सदिलो दिनलाई स्वर्गसरी बनाउँथे।

त्यतिबेला हाम्रो एउटै ठूलो रमाइलो चलन हुन्थ्यो-‘बनभात खाने’। आजको पिकनिकजस्तो भड्किलो पनि होइन, कुनै खर्च चाहिने पनि होइनतर मुटुभरि, मनभरि आनन्द दिने, साँच्चिकै जीवन सिकाउने।

पहिले सल्लाह हुन्थ्यो कुन दिन जाने? त्यसपछि—कहाँ? ठाउँ खोज्दा पानीछेउ, घाम लाग्ने, दाउरा सजिलै पाइने ठाउँ नै छानिन्थ्यो। कुनै कुरा किन्नुपर्दैनथ्यो; सबैले घरबाट थोरै–थोरै लिएर जान्थे—चामल, मासको दाल, लेकको आलु, साग, नुनका ढिका, खुर्सानीका घोँगा, अदुवाका पाना, अनि घिउ। यही नै हाम्रो भोजभतेरको परिकार थियो। थाल आफ्नै; पानी ओसार्ने जर्किन; दाउरा काट्ने आँसी। बस, यत्तिकै।

हाम्रो टोली प्रायः ‘डिलपरी’ जान्थ्यौं घाँसे पाटो छेउ, पाहरिलो पानीको मुहान नजिकै। दाउरा प्रशस्त पाइने, रमाइलो खेल्ने ठाउँ पनि उस्तै। साथीहरू मेरा भाइहरु, बाबुराम, बिट्टू, रमेश, जिवन दाइ, पार्वती दिदी, राम थापा, दिपु, रन्जु… सबैको चेहरा अझै आँखामा छ।

चुलेत्रोको तेर्सो परेको रूख जहाँ खूब हल्ली खेलिन्थ्यो, साथीभाइहरूसँग यो कथा सुन्दै हुनुहुन्छ भने याद आयो होला नि, हैन र? यी सबै कुरा आफैंमा ठूलो खेलमैदान जस्तै लाग्थ्यो। कोही पँधेरोतिर पानी लिन दौडिन्थे, कोही घाँसे डिलमै आगो सल्काउन थाल्थे। सर्वाधिक रोमाञ्चक कुरा घरबाट ‘सलाईका २–४ वटा मात्रै’ काँटी गनेर ल्याइन्थ्यो। यदि नबले… त्यो दिन बनभात नै नपाक्ने! यस्तो अवस्था कसलाई कसलाई पर्यो होला?

आगो बल्यो भने संसार उज्यालो हुन्थ्यो। भात पाक्दै गयो, घिउको सुवासले जंगलै मिठासिन्थ्यो।

मासको दाल, कोमल साग र आलुको तरकारीआज सम्झिँदा मात्रै पनि मन पेटभरि मज्जाले खाएझैँ तृप्त हुन्छ।

सबैलाई बराबर भाग लगाइन्थ्यो। पेटभरि, मनभरि खान्थ्यौँ। भाँडा माझेर फेरि हल्ली–खेल्ली गर्दै डन्डीबियो खेलमा रमाइन्थ्यौँ। घर फर्कँदा थालको कुनामा राखिदिएको “अलिकति घिउ, अलिकति भात” हाम्रो प्रेम, सहकार्य र साझेदारीको अदृश्य सम्झना नाचिरहेको हुन्थ्यो। बेलुका थाल बजाउँदै उफ्रदै घरमा पुगिन्थ्यो शरीरमा थकान भन्दा पनि आनन्दको अनुभूति कति हो कति!

मंसिर लागेपछि आज पनि ती दिनहरू मनमा उस्तै ताजै हुँदै उठ्छन् मंसिर मात्र होइन, साथीहरू, उमंग, हाँसो, जंगल, बुट्यान, चौर सबै कुरा फनफनी घुम्छन्। बचेका दाउरा दन्दनी बालेर ओइरीपरी बसेर तापेका न्यानो पलहरू, सबै कुरा एकैसाथ ओइरिन्छन् सम्झना बनेर।

समय धेरै फेरियो।

बनभात अहिले ‘पिकनिक’ भयो।

खानाका परिकार बढे, तर आत्मीयता घट्यो।

पकाउने मान्छे छुट्टै, भाँडा माझ्ने मान्छे छुट्टै।

मासुको गन्ध, मसला र कोलाहलले पुरानो मौलिकता कतै हराइदियो।

तर हामीले सिकेका मूल्यहरू

आगो बाल्ने कला, भाँडा माझ्ने बानी,

समूहमा काम गर्ने क्षमता,

र एकै थालमा बसेर धीत मर्नुञ्जेल खाने सादगी—

यी कहिल्यै पुराना भएका छैनन्।

साथीहरू छुटे, ठाउँ बदलियो, समय बदलियो। तर त्यो उमेर, त्यो आनन्द, त्यो आत्मीयता र बनभातको सुगन्ध मंसिर लागेपछि आज पनि मन भित्र कतैबाट भन्छ,

“हेर त, तिमी फेरि त्यही डिलपरी पुगेका छौ…”

 

प्रतिक्रिया दिनुहोस: