देवी जि.सी. /बेनी, फागुन १ – म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा वन डढेलो जोखिम न्यूनीकरण गर्न सचेतना सप्ताह सुरु भएको छ। डिभिजन वन कार्यालय, म्याग्दीको आयोजना तथा स्थानीय तह, विभिन्न संघसंस्था र वन उपभोक्ता समूहको सहकार्यमा फागुन १ गतेदेखि ७ गतेसम्म चल्ने यो सप्ताहको शुभारम्भ एक विशेष समारोहका बीच गरिएको हो।
जिल्लाका ६ वटै स्थानीय तहमा रहेका डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वन तथा अन्य संघसंस्थामार्फत वन उपभोक्ता सचेतना कार्यक्रम, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्र सरसफाई, विद्यालय शिक्षासँग जोडिएका कार्यक्रम, डढेलो नियन्त्रणका लागि समूह गठन र परिचालनका साथै जोखिम भएका स्थानमा अग्निरेखा निर्माणजस्ता विभिन्न गतिविधि सञ्चालन गरिने जनाइएको छ।
सचेतना सप्ताहको उद्घाटन अवसरमा निमित्त जिल्ला समन्वय प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, भूमि आयोगकी सदस्य पशुपति शाही, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सविन श्रेष्ठ, बराहपाखो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विष्णु गौतमलगायतको उपस्थितिमा बराहपाखो सामुदायिक वनभित्र सरसफाई तथा अग्निरेखा मर्मत कार्य गरिएको थियो। उक्त अभियानमा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उपभोक्ताको सक्रिय सहभागिता रहेको थियो।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारिले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सचेतना सप्ताह मात्र नभई वर्षभरि नै सक्रियता आवश्यक पर्नेमा जोड दिए।
सप्ताहभरि गाउँगाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोमार्फत सूचना प्रवाह, फायरलाइन सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने जस्ता गतिविधि सञ्चालन गरिने डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ।
मानवीय कारणले ९६ प्रतिशत वन डढेलो लाग्ने भएकाले जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिइएको छ। डढेलोका कारण हुने क्षति, प्रभाव, तथा नियन्त्रणका उपायबारे व्यापक जानकारी दिने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।