Advertisement

म्याग्दीको राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा गाउँपालिकालाई

Share:

बेनी, माघ-२९, म्याग्दीको बेनीमा सम्पन्न १०औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ४ काँस्य पदक जित्दै रघुगंगाले प्रथम स्थान हासिल गरेको हो।

त्यसैगरी, बेनी नगरपालिकाले ७ स्वर्ण, १० रजत र ७ काँस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने मालिका गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ८ काँस्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ। म्याग्दीका ६ स्थानीय तहबाट छनोट भएका खेलाडीहरूबीच भएको कडा प्रतिस्पर्धामा पहिलो पटक जिल्लास्तरीय राष्ट्रपति कप गाउँपालिकाले जित्न सफल भएको हो।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्शल आर्ट र एथलेटिक्स विधामा प्रतिस्पर्धा गरिएको थियो। विभिन्न खेल विधामा प्रतिस्पर्धाका लागि ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू आगामी फागुन ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताका लागि भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ जना गरी कुल १०० जना खेलाडी म्याग्दीबाट छनोट भएका छन्।

जिल्ला खेलकुद विकास समितिले सफलतापूर्वक सम्पन्न गरेको यस प्रतियोगिताले जिल्लाका खेलाडीहरूलाई उच्चस्तरको प्रतिस्पर्धा प्रदान गर्नुका साथै प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने अवसर समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस: