Advertisement

बेनीमा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Share:

बेनी, माघ-२८, म्याग्दी सदरमुकाम बेनीमा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो। जिल्लाका स्थानीय तहहरूमा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितापछि जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा जिल्लाका छ वटा स्थानीय तहबाट छनोट भएका करिब ६ सय विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ ९० पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता उद्घाटन समारोहमा बेनी नगरपालिकाका मेयर सुरत केसीले प्रदेश स्तरमा हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्न तथा विद्यार्थीहरूको खेल क्षमताको अभिवृद्धि गर्न यस प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यालय तहमा पहिचान भएका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा चिनारी गराउने अवसर यस प्रतियोगिताले दिने उल्लेख गर्नुभयो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू आगामी फागुन ५ र ६ गते गोरखामा आयोजना हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुनेछन्। भलिबलबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ तथा एथलेटिक्सबाट २४ जना गरी कुल १०० जना खेलाडी छनोट गरिनेछ। म्याग्दी अनलाइनको   सहयोगमा 

प्रतिक्रिया दिनुहोस: