Advertisement

जलजला गाउँपालिकाद्वारा उद्यमीलाई अनुदान सहयोग

Share:

देवी जिसी /माघ २७, जलजला

पर्वत जिल्लाको जलजला गाउँपालिकाले आफ्नो पालिका भित्र लघु तथा घरेलु उद्यम सञ्चालन गर्ने उद्यमीहरूलाई बीउ पुँजी उपलब्ध गराएको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत १४ जना उद्यमीलाई जम्मा रु. १३ लाख ७५ हजार अनुदान उपलब्ध गराएको छ। यसअन्तर्गत एक जनालाई रु. ७५ हजार र १३ जनालाई रु. एक÷एक लाखका दरले अनुदान प्रदान गरिएको छ।

गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले बताए अनुसार, विभिन्न प्रकृतिका उद्यमीहरूलाई छनोट गरी किस्ता बन्दीमा फिर्ता गर्ने गरी अनुदान प्रदान गरिएको छ। यस कार्यक्रमले टोल विकास संस्थाका सदस्यहरूलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न गत वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग गर्न थालेको हो। गत वर्ष नौ जनालाई रु. एक/एक लाखका दरले सहयोग गरिएको थियो।

उद्यमीहरूलाई प्रदान गरिएको अनुदान

  • वडा नं. २ का मोहनबहादुर खत्री (कृषि र पशुपंक्षीपालन): रु. ७५ हजार
  • वडा नं. १ का नीरबहादुर रोका (बाख्रा र पाडापालन): रु. एक लाख
  • वडा नं. ६ का खिमा चोचाङी (तरकारी खेती): रु. एक लाख
  • वडा नं. ७ का देवन गिरी (तरकारी खेती): रु. एक लाख
  • वडा नं. ९ का मतिसरा पुर्जा मगर (बंगुरपालन): रु. एक लाख
  • वडा नं. ८ का हरी नगरकोटी (बाख्रापालन): रु. एक लाख
  • वडा नं. ५ का ज्ञानराज उपाध्याय (कृषि तथा पशुपक्षीपालन): रु. एक लाख
  • वडा नं. २ का बाबुराम परियार (बाख्रापालन): रु. एक लाख
  • वडा नं. ४ का सुनिल हमाल (बाख्रापालन): रु. एक लाख
  • वडा नं. ५ का प्रेमसागर मल्ल (तरकारी खेती तथा कुखुरापालन): रु. एक लाख
  • वडा नं. ८ का मानबहादुर परियार (तरकारी खेती): रु. एक लाख
  • वडा नं. ७ का यामकुमारी आचार्य (कृषि र पशुपालन): रु. एक लाख
  • वडा नं. ९ का बिरबहादुर फकामी (बाख्रापालन): रु. एक लाख
  • वडा नं. ३ का कोपिला उपाध्याय (कृषि व्यवसाय): रु. एक लाख

कार्यक्रमको उद्देश्य
यस कार्यक्रमको मुख्य उद्देश्य असल उद्यमी निर्माण गर्ने, उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्ने लगायत रहेको छ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए अनुसार, पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको छ। उनले यो कार्यक्रम हरेक वर्ष फरक-फरक उद्यमीलाई प्रदान गरिने योजना रहेको पनि जानकारी दिनुभयो।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले यस कार्यक्रम मार्फत पालिकाभित्रै व्यावसायिकरूपमा फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीहरूलाई प्रोत्साहन दिइएको बताउनुभयो। साथै, यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने उनले बताउनुभयो।

प्याज उत्पादन कार्यक्रमलाई निरन्तरता
गत वर्षदेखि शुरु भएको प्याजका विरुवा उत्पादन गरेर खेतीका लागि वितरण गर्ने कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिइएको छ। यसले स्थानीय कृषि क्षेत्रमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ। पालिकाले स्थानीय उद्यमीहरूलाई आर्थिक सहयोग प्रदान गरी आत्मनिर्भर बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको छ।

प्रतिक्रिया दिनुहोस: