देवी जिसी/पर्वत, श्रावण ८ – दलित विद्यार्थीहरूको प्राविधिक शिक्षामा सहभागिता बढाउन र उनीहरूलाई प्रोत्साहन गर्न जलजला गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको छ।
गाउँपालिकाको आयोजनामा शुक्रबार जलजला गाउँपालिका कार्यालयको सभाहल, लामाखेतमा “सम्मान तथा अभिमुखीकरण कार्यक्रम” सम्पन्न गरिएको हो। कार्यक्रममा प्राविधिक शिक्षामा अध्ययनरत दलित विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ।
स्नातक तह अध्ययनरत विद्यार्थीलाई रू. ३०,००० र कक्षा ११/१२ (प्राविधिक एसएलसी पश्चात् तह) अध्ययनरत विद्यार्थीलाई रू. २०,००० नगद प्रदान गरिएको हो।
त्यस्तै, २०८१ को SEE परीक्षामा सफल भएका दलित विद्यार्थीहरूलाई उच्च शिक्षामा सही गन्तव्य छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले क्यारियर गाइडेन्ससम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
“समानतामूलक समाज जलजलाको सार; कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न विद्यालय र प्राविधिक संस्थामा अध्ययनरत दलित विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै जलजला गाउँपालिकाका उप–प्रमुख दीपक आचार्यले विद्यार्थीहरूलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभयो। उहाँले शिक्षामार्फत समावेशी र समानतामूलक समाज निर्माणमा सबैले आ–आफ्नो भूमिकामा इमानदारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शिक्षक शान्ता नेपालीले क्यारियर गाइडेन्ससम्बन्धी अभिमुखीकरण सत्रको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख बिन्दु आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, शिक्षक, अभिभावक, सामाजिक अगुवा तथा विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमहरूले दलित समुदायका बालबालिका र किशोर–किशोरीलाई शिक्षामा उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न















