बेनी, असार १४, म्याग्दीको बेनी नगरपालिका–९, कालिपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पहिलोपटक सहभागी सबै विद्यार्थीलाई उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको छ।
विद्यालय इतिहासमै पहिलोपटक एसईई परीक्षा दिएकामध्ये १० जना विद्यार्थी सबैजना उत्तीर्ण भएका छन्।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र प्रसाद केसीका अनुसार, विगत केही वर्षयता विद्यालयले शैक्षिक सुधारमा विशेष प्राथमिकता दिएको थियो। त्यसकै परिणामस्वरूप हालै प्रकाशित नतिजामा शतप्रतिशत सफलता हासिल गर्न सकिएको हो।
उहाँले भन्नुभयो, “हिजोआजका दिनमा बालमन्दिर माविले गरेको सुधारको प्रयासलाई यस सफलताले प्रमाणित गरेको छ। कुनै बेला नगण्य विद्यार्थी संख्या रहने, र अरू विद्यालयले भर्ना नगरेका बालबालिकाले मात्र पढ्ने स्थलका रूपमा चिनिएको यो विद्यालय अहिले गुणस्तरीय शिक्षाको प्रतीक बन्दै गएको छ।”
उहाँले विद्यालयको प्रगतिको श्रेय सम्पूर्ण शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक र समुदायलाई दिँदै सबैप्रति आभार प्रकट गर्नुभयो।
विद्यालयले पछिल्लो केही वर्षयता शैक्षिक गुणस्तरको सुधार, शिक्षकको निरन्तर तालिम, भौतिक पूर्वाधारको विस्तार, र अनुशासनमा आधारित शिक्षण विधिमार्फत उल्लेखनीय प्रगति गरेको छ।
सुरेन्द्र प्रसाद केसीका अनुसार, अहिले बालमन्दिर विद्यालयमा आधुनिक कक्षा कोठाहरू, आवश्यक शैक्षिक सामग्री, र सकारात्मक सिकाइ वातावरण उपलब्ध छ। विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयत्नले विद्यालयमा सकारात्मक ऊर्जा प्रवाह भएको छ।
विद्यालय प्रशासनले स्थानीय अभिभावक, सरोकारवाला र समुदायलाई विद्यालय भ्रमण गर्न आग्रह गरेको छ। “आउनुस्, एकपटक विद्यालयको अवस्था आफैं हेर्नुस्, कक्षा कोठा, सिकाइ वातावरण, विद्यार्थीको गतिविधि अवलोकन गरौं। र आवश्यक सुझाव पनि दिनुस्,” — प्रधानाध्यापक केसीले भने।
विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोगमा बालमन्दिर माविले पहिलो सहभागितामै उत्कृष्ट सफलता हासिल गर्दै शिक्षामा देखिएको लगानी र प्रयासको सार्थकता प्रमाणित गरेको छ। विद्यालयले आगामी वर्षहरूमा पनि अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Copy of Flyer 7 – 1















