देवी जिसी /बेनी, जेठ-३०, कुरितिजन्य प्रथाको अन्त्य र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम बेनी नगरपालिकाको वडा नम्बर ५, पुलाचौरमा सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार सम्पन्न सो सचेतना कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनु भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक बद्रिदिप शर्माले आत्महत्या, गर्भपतन, जबरजस्ती करणी तथा लैंगिक हिंसाका घटनामा लागू हुने कानुनी प्रावधानका बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो। उहाँले यस्ता संवेदनशील घटनामा पीडितले कसरी न्याय पाउने, कसरी उजुरी गर्न सकिने र प्रहरीको भूमिका कस्तो रहने भन्ने विषयमा समेत विस्तृतरूपमा जानकारी दिनु भएको थियो।

त्यसैगरी, कार्यक्रममा बेनी नगरपालिकाका वरिष्ठ प्रशासनिक अधिकृत युवराज थापाले समाजमा अझै पनि जरो गाडेर बसेका दाइजो प्रथा, छुवाछुत, र विभिन्न खाले सामाजिक कुसंस्कारको अन्त्यका लागि सबैले साझा प्रयास गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले यस्ता कुरीतिहरूले समाजलाई कमजोर बनाउने भएकाले सचेत र सशक्त नागरिक समाज निर्माणमा जोड दिनु भयो।
कार्यक्रममा संगम म्याग्दीकी उपाध्यक्ष देवी सेबेदी जिसीले बालविवाहका नकारात्मक असरबारे प्रकाश पार्दै, शिक्षादेखि स्वास्थ्य र समग्र व्यक्तित्व विकासमा बालविवाहले पार्ने प्रतिकूल प्रभावबारे सहभागीलाई जानकारी दिनु भयो।

महिला तथा किशोरीहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रम बेनी नगरपालिकाको आयोजना तथा वडा नम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाको अध्यक्षतामा सम्पन्न भएको हो।
यसअघि, यस्तै प्रकृतिको सचेतनामूलक कार्यक्रम बेनी नगरपालिका वडा नम्बर १०, पात्लेखेतमा पनि सम्पन्न भइसकेको छ। बेनी नगरपालिका महिला विकास शाखाकी महिला विकास निरीक्षक डमसारा पुनका अनुसार, यस्ता कार्यक्रमलाई अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना रहेको छ।
















