गोरखा, असार २६, गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा म्याग्दीले एथलेटिक्सतर्फ तीन वटा स्वर्ण पदक जित्न सफल भएको छ। गोरखा सदरमुकाममा जारी प्रतियोगितामा म्याग्दीका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्दै जिल्ला स्तरमै खेलकुद क्षमताको प्रमाण प्रस्तुत गरेका छन्।
४ सय मिटर दौडतर्फ म्याग्दीकी सविना विकले प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जितिन्। यस्तै, सटफुट प्रतिस्पर्धामा मुना गबुर्जा मगरले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भइन्। त्यस्तै, ३ हजार मिटर लामो दूरीको दौडमा सोनिया खड्काले पनि स्वर्ण पदक हात पारिन्।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठका अनुसार एथलेटिक्सतर्फको सफलताले जिल्ला स्तरीय खेलाडीहरूमा थप उत्साह र आत्मविश्वास पैदा गराएको छ। “खेलाडीहरूको लगनशीलता र प्रशिक्षकहरूको समर्पणले राम्रो नतिजा दिलाएको हो,” श्रेष्ठले बताउनुभयो।
प्रतियोगितामा कबड्डी खेलतर्फ छात्रा र छात्र दुवै समूहले विजय सुरुवात गरेका छन्। उनीहरूले सुरुवाती खेलहरूमा सशक्त प्रदर्शन गर्दै म्याग्दीलाई सम्भावनाको केन्द्रमा राखेका छन्। यद्यपि, भलिबलतर्फ भने छात्रा र छात्र दुवै टिम प्रारम्भिक चरणबाटै प्रतियोगिताबाट बाहिरिएका छन्।
मार्सल आर्ट अन्तर्गतका खेलतर्फ म्याग्दीका खेलाडीहरूसँग राम्रो सम्भावना देखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। “मार्सल आर्टमा हामीले विगतमा पनि सफलता पाएका थियौं, यो वर्ष पनि केही विधामा पदक जित्ने सम्भावना छ,” उहाँले थप्नुभयो।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाका खेलकर्मी, प्रशिक्षक, पदाधिकारी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
म्याग्दीका खेलाडीहरूले प्राप्त गरेको सफलता जिल्लामा खेलकुदको विकासको सम्भावना र आवश्यकता दुबैलाई औंल्याउने खालको रहेको खेलकुद विज्ञहरूको टिप्पणी छ।













