Advertisement

ग्राम प्रकाश माविमा विद्यार्थी पुनर्मिलन, गुरु सम्मान तथा पूर्व विद्यार्थी संघ गठन सम्पन्न

Share:

देवी जि.सी./जलजला, फागुन-७,  पर्वतको जलजला-५, लेखफाँटस्थित ग्राम ग्राम प्रकाश माध्यमिक विद्यालयमा विद्यार्थी पुनर्मिलन, गुरु सम्मान तथा पूर्व विद्यार्थी संघ गठन समारोह भव्य रूपमा सम्पन्न भएको छ। फागुन ७ गते विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय स्थापनाकालदेखि हालसम्मका विद्यार्थीहरूको पुनर्मिलन, गुरु सम्मान तथा पूर्व विद्यार्थी संघ गठन गरिएको हो।

उक्त कार्यक्रम SLC ब्याच २०४८ का विद्यार्थीहरूको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रम संयोजक चन्द्रकुमारी गुरुङका अनुसार यस कार्यक्रम सम्पूर्ण विद्यार्थीहरूको साझा कार्यक्रम थियो। लामो इतिहास बोकेको यस विद्यालयका विद्यार्थीहरूलाई एकत्रित गर्ने प्रयास सफल भएको भन्दै उनले सबैको सहयोगले कार्यक्रम सम्भव भएको बताउनुभयो ।

कार्यक्रमको महत्वपूर्ण अंशका रूपमा तीन चरणमा गुरुहरूलाई सम्मान गरिएको थियो। पहिलो चरणमा २०४८ सालमा अध्यापन गराउने शिक्षकहरूलाई, दोस्रो चरणमा त्यसपछि अध्यापन गरेका शिक्षकहरूलाई तथा तेस्रो चरणमा हाल कार्यरत शिक्षक-कर्मचारीलाई सम्मान गरिएको थियो।

कार्यक्रम आयोजक समितिका सचिव भीमनाथ रेग्मीले कार्यक्रम सबै पूर्व विद्यार्थीहरूको रहेको उल्लेख गर्दै ब्याच २०४८ ले मात्र संयोजन गरेको बताए। अन्य शैक्षिक संस्थाहरूमा पूर्व विद्यार्थी भेला हुने गरे तापनि यहाँ पुराना गुरुहरूलाई समेत एकै थलोमा भेटघाट गराउने अवसर प्रदान गरिएको उहाँको  भनाइ थियो।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल चितवन निवासी ७९ वर्षीय कपिलमणि रेग्मीले भावुक हुँदै आफ्नो समयका सहकर्मी (दिवंगत बाहेक) लाई पुरानो कार्यथलोमै भेट्न पाउनु अभूतपूर्व अनुभव भएको बताउनुभयो ।

सोहि कार्यक्रममा विद्यालयका पुर्व शिक्षक  जय प्रसाद सुबेदीले रु. १ लाख ११ हजार १ सय रुपियाँको छात्रवृत्ति कोष समेत स्थापना गर्नुभयो । उहाँले छात्रवृत्ति वितरणको कार्यविधि र चेक विद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेल र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष याम शर्मा पौडेललाई हस्तान्तरण गर्नुभएको छ।

कार्यक्रममा दिवंगत शिक्षक-कर्मचारीहरूको सम्झनामा तस्वीरमा माल्यार्पण, मौनधारण तथा गुरुवन्दना गरिएको थियो। साथै, विद्यालयका विभिन्न ब्याचका पूर्व विद्यार्थीहरू जस्तै २०४९ ब्याचका कृष्ण बहादुर जिसी, २०५१ ब्याचका नेपाल सरकारका उपसचिव डा. नारायण सुवेदी, धौलागिरी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा पूर्व शिक्षक हिरालाल रेग्मी, पूर्व शिक्षक नारायण प्रसाद सुवेदी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुकुन्द पौडेल, पूर्व शिक्षक माधव रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिले २०८२ साल असोजमा बृहत भेला आयोजना गरी श्री ग्राम प्रकाश माविको पूर्व विद्यार्थी संघलाई पूर्णता दिने निर्णय गरेको छ।

कार्यक्रम ब्याच २०४८ की चन्द्रा कुमारी गुरुङको अध्यक्षता, विद्यालयका पूर्व प्रधानाध्यापक डिल्लीराम रकालाको प्रमुख आतिथ्यता, तुलसी रेग्मीको स्वागत तथा भीमनाथ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस: