देवी जिसी /म्याग्दी, चैत-१६, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि रहेको बिरेन्द्रचोकमा विरोधसभा आयोजना गरी शुक्रबार राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरिएको हो।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले भिडियो खिचिरहेको घरमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
विरोधसभामा स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। सचिव ठाकुरप्रसाद आचार्यले सञ्चालन गरेको शोक तथा विरोधसभामा नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसैबीच, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आफ्नो ७० औं स्थापना दिवसको अवसरमा शनिबार आयोजना गर्ने भनिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।