बेनी, असार-१२, म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार दरबाङस्थित छ्यारछ्यारे सभाहलमा बसेको गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेट छलफलपछि पारित गरिएको हो।
कुल बजेटमध्ये ३२ करोड ९४ लाख ८७ हजार रुपैयाँ चालुतर्फ र १३ करोड ७ लाख १९ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। संघीय र प्रदेश सरकारका विभिन्न शीर्षकहरूबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, तथा गाउँपालिकाको आन्तरिक आयसमेत गरी यो बजेट प्रस्ताव गरिएको हो। संघीय सरकारबाट समानिकरण अनुदान ८ करोड ८३ लाख, सशर्त चालु अनुदान २० करोड ६३ लाख, र राजस्व बाँडफाँड ८ करोड ७० लाख ४१ हजार प्राप्त हुने उल्लेख छ।
यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ७ लाख २२ हजार, राजस्व बाँडफाँड ८५ लाख ८९ हजार, विशेष तथा समपुरक अनुदान गरी जम्मा १ करोड ९४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
गाउँपालिकाको आन्तरिक आय सेवा शुल्क, दस्तुर, रोयल्टी तथा संचित कोषबाट २ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। बजेटमा समावेश प्राथमिक क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सडक, अधुरा योजना पूर्तिका साथै खानेपानी, सिंचाइ, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालन रहेका छन्।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समृद्ध र समावेशी विकासलाई टेवा पुग्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो। उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले कार्यान्वयनमा सबैको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सुरुदेखि नै जुटिने जानकारी दिनुभयो। यता, गएको आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिकाले ५० करोड ३ लाख ७६ हजारको बजेट ल्याएकोमा हालसम्म २६ करोड ५६ हजार रुपैयाँ खर्च भएको छ।














