Advertisement

म्याग्दीको लुलाङमा नेपाल टेलिकमको सेवा बिस्तार

Share:

बेनी, असार-१, म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–२ लुलाङमा नेपाल टेलिकमले मोबाइल फोन सेवा विस्तार गरेको छ।

टेलिकमले खोरियाको नयाँ वनमा फोरजी इन्टरनेटसहितको बिटिएस टावर स्थापना गरेर लुलाङ क्षेत्रमा दूरसञ्चार सेवा पुर्याएको हो। यो टावरले खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी र जलजला क्षेत्रलाई सेवा प्रदान गर्नेछ।

धवलागिरि–२ का वडाध्यक्ष अकप्रसाद बिकका अनुसार यसअघि मुदीमा रहेको टावरको सिग्नल यी क्षेत्रमा राम्रोसँग नपुग्ने समस्या थियो। फलस्वरूप स्थानीयवासीले फोन गर्न टावरको सिग्नल टिप्ने ठाउँसम्म जानुपर्ने बाध्यता थियो।

गत फागुनमा टावर स्थापना भए पनि विद्युत् सुविधाको अभावमा सञ्चालन हुन सकेको थिएन। नेपाल विद्युत् प्राधिकरणले गत हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि चार महिनाको प्रतीक्षापछि टावर सञ्चालनमा आएको हो।

टावर सञ्चालनका लागि स्थानीयवासी र गाउँपालिकाले खोरियामा उपकरण राख्ने घर निर्माण गरेका छन्। यस क्षेत्रमा एनसेलजस्ता निजी कम्पनीहरूको सेवा अझै पुगेको छैन।

प्रतिक्रिया दिनुहोस: