देवी जिसी /बेनी, जेठ-१३, लायन्स क्लब अफ म्याग्दी दोभानले ‘पढाऔं अभियान’ अन्तर्गत बेनी सामुदायिक माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ। सोमबार सम्पन्न कार्यक्रममार्फत क्लबकी सदस्य अम्बिका श्रेष्ठले आफ्ना स्व. बुवाको स्मृतिमा दुई जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाँका दरले नगद छात्रवृत्ति तथा २१ जना विद्यार्थीलाई आवश्यक स्टेशनरी सामग्री प्रदान गर्नुभएको हो।
श्रेष्ठले आफ्नो अध्यक्षकालमा स्थापना गरिएको “स्मृति कोष” मार्फत उक्त सहयोग गरिएको जानकारी दिनुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा प्रमुख अतिथि दीपक श्रेष्ठले क्लबले समाजसेवाका विविध गतिविधिहरू गर्दै आएकोमा शिक्षा क्षेत्रमै केन्द्रित भई विद्यालय र विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने खालको सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

सो अवसरमा क्लबकी संस्थापक अध्यक्ष अमृतदेवी बानिया, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक प्रतिनिधिहरूले पनि आफ्ना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम क्लबकी अध्यक्ष पवित्रा केसीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठको प्रमुख आतिथ्य तथा क्लबकी सचिव अम्बिका ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो।
यस अभियानले विद्यार्थीहरूलाई प्रेरणा दिने विश्वास अभिव्यक्त गर्दै सहभागीहरूले आगामी दिनमा पनि यस्ता सहयोग जारी रहोस् भन्ने आशा व्यक्त गरेका थिए।















