Advertisement

क्षत्री समाज म्याग्दीको अध्यक्षमा कृष्णसिंह बानियाँ चयन, अधिकारका लागि लड्नुपर्नेमा जोड

Share:

म्याग्दी, जेठ-११,  क्षत्री समाज नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको छैटौँ जिल्ला अधिवेशनले कृष्णसिंह बानियाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सदरमुकाम बेनीबजारस्थित समाजको आफ्नै भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा लक्ष्मी केसी, वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे र उपाध्यक्षमा सन्जु बरुवाल चयन हुनुभएको छ । त्यसैगरी, महिला उपाध्यक्षमा कमला खत्री घर्ती क्षत्री, सचिवमा यामबहादुर बानियाँ, कोषाध्यक्षमा हिराबहादुर कटुवाल, सहसचिवमा सीता थापा कुँवर र सहकोषाध्यक्षमा पवित्रा बोगटी केसी निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक मोहन बानियाँले जानकारी दिनुभयो । कार्यसमिति सदस्यहरुमा पनि सुनिता केसी, लक्ष्मी भण्डारी कार्की, सुन्दर केसी, घनश्याम खड्का, नरसिंहबहादुर खत्री, दिनेश बानियाँ, विनोद घर्ती, डम्बरबहादुर पाण्डे, भेषबहादुर बानियाँ, विशाल खत्री, मिनबहादुर बानियाँ, दिपेन्द्र न्यौपाने क्षत्री, रुबिना कार्की, निशा खत्री बानियाँ, रश्मी भण्डारी कुँवर र विष्णु पाण्डे चयन हुनुभएको क्षत्री समाज म्याग्दीले जनाएको छ ।

अधिवेशनको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले राज्यले क्षत्री समुदायलाई विभेद र अन्याय गरेको आरोप लगाउनुभयो । उहाँले क्षत्रीहरुको आवाज नसुनेको र समाजले उठाएका मागहरुको वेवास्ता गरेकाले देशभर छरिएर रहेका क्षत्री बन्धुहरुको सङ्गठनलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । आफ्नो हक तथा अधिकारका लागि निरन्तर लडिरहनुपर्ने आवश्यकतासमेत उहाँले औंल्याउनुभयो ।

क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले २०७२ सालको संविधानमा क्षत्रीलाई अन्य जातिको सूचीमा राखेर अधिकारबाट वञ्चित गरिएको बताउनुभयो । उहाँले आरक्षण जातीय आधारमा नभई वर्गीय आधारमा हुनुपर्नेमा जोड दिँदै विगतमा क्षत्री समाजको आन्दोलनले देशलाई जातीय राज्यमा जानबाट रोकेको बताउनुभयो । करिब ७० लाख क्षत्री जातिको हक अधिकारको ग्यारेन्टीसहित आवश्यक सहुलियतको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । नव निर्वाचित अध्यक्ष कृष्णसिंह बानियाँले सबैलाई समेटेर समग्र क्षत्री बन्धुहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष उर्मिला खड्का लगायत विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा समाजका अध्यक्ष, सचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस अवसरमा विभिन्न समयमा समाजलाई सहयोग पुर्याएका क्षत्रीहरुलाई सम्मान गरिएको थियो भने निर्वाचित जनप्रतिनिधि र विभिन्न संघसंस्थामा प्रतिनिधित्व गरेका क्षत्री बन्धुहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस: