Advertisement

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

Share:

देवी जिसी/बैशाख-२३, अन्नपूर्ण गाउँपालिका–६ घारका कुलबहादुर बरुवालको ८४ औं जन्मोत्सवको अवसरमा मुक्तिमार्ग माध्यमिक विद्यालयमा १० लाख ८ हजार ४ सय ८४ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ।

बेल्जियममा बसोबास गर्दै आएका उनका छोरा–बुहारी शिवकुमार र ज्ञानु बरुवालले चैत ३० गते ‘कुलबहादुर/स्व. मनकुमारी अक्षय कोष’ घोषणा गरेका थिए।

सो कोष स्थापनार्थ रकम सोमबार मुक्तिमार्ग माविमा एक विशेष समारोहका बीच विद्यालयका प्रधानाध्यापक ठकराज बरुवाललाई हस्तान्तरण गरिएको हो। समारोहमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बरुवाल दम्पत्तिसहित छोरी, आफन्तजन र स्थानीयवासीको उपस्थिति थियो। गरिमा विकास बैंकको चेकमार्फत हस्तान्तरण गरिएको उक्त कोषको आम्दानीबाट मुक्तिमार्ग मावि र छिमेकी भुवानी आधारभूत विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ।

भुवानी आधारभूत विद्यालय पनि कुलबहादुर बरुवालकै अगुवाइमा स्थापना गरिएको हो।

शिवकुमार बरुवालले आफ्ना बाबुले १००८ औं चन्द्रमा पुरा गर्नु भएको उपलक्ष्यमा पुख्र्यौली थलो र आफैले अध्ययन गरेको विद्यालयमा अक्षय कोष स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कोषको आम्दानीले विद्यार्थीलाई थप शिक्षा आर्जनका लागि प्रोत्साहन मिल्नेछ।

धार्मिक विश्वास अनुसार ८४ वर्ष पुरा गरेपछि दीर्घायुको प्रतीकस्वरूप ‘चौरासी पूजा’ गर्ने परम्परा छ। मानव जीवनमा १००८ चन्द्रमा पार गर्नु दीर्घजीवनको संकेत मानिन्छ।

प्रतिक्रिया दिनुहोस: