देवी जिसी /मालिका, बैशाख-२३, पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा जाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ।
मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा हिमालयन आँखा अस्पताल घारीपाटन, नेपाल नेत्रज्योति संघ म्याग्दी शाखा र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभयो। उद्घाटनपछि अध्यक्ष गर्बुजाले दुर्गम गाउँवस्तीमा बसोबास गर्ने नागरिकलाई गाउँपालिकाकै केन्द्रबाट आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले बिरामीहरुले पूर्ण रुपमा शिविरको लाभ लिन आग्रह गर्नुभयो।
शिविरका मुख्य प्रायोजक अपर म्याग्दी हाईड्रोपावर लिमिटेडका सुरक्षा अधिकृत सुरेश घलेले पश्चिम म्याग्दी क्षेत्रका विभिन्न सामाजिक क्षेत्रमा संस्थाले निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्यसम्बन्धी आगामी कार्यक्रमहरूमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, हाईड्रोपावरले लक्षित गरेर उपलब्ध गराएको एम्बुलेन्स सेवा सबैका लागि खुला रहेको जानकारी दिनुभयो।
नेपाल नेत्रज्योति संघ म्याग्दी शाखाका सभापति अमर बानियाँले अन्धोपन निवारणका लागि जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले आँखाको संवेदनशीलतालाई ध्यान दिँदै शिविरलाई सफल बनाउन जोड दिनुभयो।
हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीले स्क्रिनिङ क्याम्पको क्रममा मोतियाविन्दु भएका बिरामीहरुको शल्यक्रिया गरिने जानकारी दिनुभयो।
शिविरको उद्घाटन सत्रमा ९३ वर्षीया लक्ष्मी पुनलाई नामदर्ताको पुर्जा हस्तान्तरण गरी औपचारिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडा अध्यक्ष पथबहादुर रोका, सहकारीका उपाध्यक्ष हरिप्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की लगायत विभिन्न संघसंस्था तथा स्थानीयको उपस्थिति रहेको थियो।
शिविरमा दरबाङ र बेनीका स्वास्थ्यकर्मीहरु खटिएका छन्। मालिका गाउँपालिका, धवलागिरि गाउँपालिका, बेनी नगरपालिका तथा पर्वतको मल्लाज क्षेत्रबाट समेत बिरामीहरु उपचारका लागि आइपुगेका छन्।
तीन दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन झन्डै ३ सय जनाले नामदर्ता गराएका छन्।