म्याग्दी, चैत ३० – मुक्तिनाथ दर्शनपछि फर्किँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा गेटमा टाउको ठोक्किएर १५ वर्षीया बालिकाको मृत्यु भएको छ।
घटना शुक्रबार राति करिब १० बजे म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित धर्मशाला परिसरमा भएको हो। मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको रा १ ख १६१३ नम्बरको बस भित्रछिर्ने क्रममा सवारी बालिकाको टाउको गेटमा ठोक्किन पुगेको हो।
ज्यान गुमाउने बालिका सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका–६ लवाङकीकी १५ वर्षीया सरस्वती ओली हुन्। उनी बसको पछिल्लो सिटमा बसिरहेकी थिइन्। घटनापछि गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पताल पुर्याइएता पनि चिकित्सकले मृत घोषणा गरे।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले घटनाको पुष्टि गर्दै बस चालकलाई प्रहरी नियन्त्रणमा राखिएको बताए। सरस्वतीको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।