म्याग्दी, चैत-१६, नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सोमबार बेनीमा जागरण सभा सम्पन्न गरेको छ। पार्टी कार्यालय हाँडेभीरबाट मोटरसाइकल र्याली निकाल्दै बजार परिक्रमा गरी बिरेन्द्रचोकमा सभामा परिणत गरिएको थियो।
चैत १५ गते राजधानीमा राजावादी समूहद्वारा गरिएको तोडफोड, आगजनी र लुटपाटको विरोधस्वरूप एमालेले जनप्रदर्शन तथा जागरण सभाको आयोजना गरेको हो। जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदीका अनुसार जनतालाई सचेत पार्दै लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न जनप्रदर्शन गरिएको हो।
मोटरसाइकल ¥याली हाँडेभीरबाट सुरु भई मंगलाघाट, न्युरोड, अस्पतालचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुँदै बिरेन्द्रचोकमा पुगेपछि सभामा परिणत भएको थियो।
सभालाई एमाले पोलिटब्युरो सदस्य थममाया थापा, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भेपेन्द्रबहादुर थापाले सम्बोधन गर्दै राजतन्त्र पुनः फर्कन असम्भव रहेको बताएका थिए। “प्रतिगमनकारीहरू फेरि टाउको उठाउन खोजिरहेका छन्, त्यसैले जनता सचेत हुन आवश्यक छ,” नेता थापाले जोड दिनुभयो।
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।