Advertisement

म्याग्दी जेसिजद्वारा सदस्य दुर्घटना बीमा पोलिसी हस्तान्तरण

Share:

देवी जि.सी./बेनी, माघ-२६, म्याग्दी जेसिजले शिखर इन्स्योरेन्स बेनी शाखाको सहयोगमा सदस्य दुर्घटना बीमाको पोलिसी वितरण गरेको छ। शनिबार आयोजित कार्यक्रममा बीमा पोलिसी हस्तान्तरण गरिनुका साथै बीमाको महत्वबारे प्रकाश पारिएको थियो।

कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष बिनोद घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि म्याग्दी जेसिजका पूर्व अध्यक्ष खम थापा मगर, विशिष्ट अतिथि पूर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठ, तथा पूर्व अध्यक्ष एवं वर्ष २०२५ का कानुनी सल्लाहकार सुमन बानियाँको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। साथै, वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सज्जन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्ष गणेश सुवेदीले आस्था पाठ वाचन गरेका थिए। कार्यक्रम संयोजक एवं म्याग्दी जेसिजका उपाध्यक्ष कपिल बानियाँले कार्यक्रम सञ्चालन गरेका थिए।

शिखर इन्स्योरेन्स बेनी शाखाका प्रबन्धक समेत रहेका उपाध्यक्ष कपिल बानियाँले बीमा योजनाको उद्देश्य तथा महत्त्वबारे जानकारी गराएका थिए। अध्यक्ष बिनोद घर्तीका अनुसार म्याग्दी जेसिजको नयाँ कार्यसमितिले आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरी प्रथम संचालक समिति बैठकबाट अनुमोदन गरी सदस्य दुर्घटना बीमा गर्ने निर्णय गरेको हो। माघ २५ गतेदेखि लागू हुने गरी बीमा व्यवस्था गरिएको छ, जसको सम्पूर्ण खर्च म्याग्दी जेसिजले व्यहोर्नेछ।

यो योजनाअन्तर्गत कुनै पनि सदस्यलाई आकस्मिक दुर्घटनामा परेमा राहत प्रदान गरिनेछ। बीमाले २४ सै घण्टा जोखिम बहन गर्ने व्यवस्था मिलाइएको छ। दुर्घटनाका कारण मृत्यु वा पूर्ण अशक्तता भएमा प्रति सदस्य एक लाख रुपैयाँ प्रदान गरिनेछ भने घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको आर्थिक सहायता उपलब्ध गराइनेछ। दीर्घकालीन रूपमा योजना व्यवस्थित बनाउन कार्यविधि तयार पारिने अध्यक्ष घर्तीले बताए।

शिखर इन्स्योरेन्स बेनी शाखाले म्याग्दी जेसिजद्वारा आयोजना हुने जिल्ला स्तरीय अन्तर मा.वि. जेसिज कप फुटबल प्रतियोगितामा वर्ष २०२२ देखि प्रत्येक वर्ष खेलाडीहरूको निःशुल्क बीमा गर्दै आइरहेको छ। बीमा साझेदारका रूपमा निरन्तर भूमिका खेल्दै आएको शिखर इन्स्योरेन्सले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस: