काठमाडौँ, साउन-२५, पशुपति आर्यघाटमा अन्त्येष्टिका क्रममा जलिरहेको शवबाट हड्डी र मासु निकालेर बेच्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
गौशाला प्रहरी वृत्तका अनुसार, शव जलाउने काम गर्ने गणेश ढकाल (घाटे) र अन्त्येष्टिमा दाउरा उपलब्ध गराउने अर्का व्यक्ति पक्राउ परेका हुन् । उनीहरूले काभ्रेको बनेपा नगरपालिका-९ का राम शाहीको जलिरहेको शवबाट हड्डी र मासुको भाग निकालेर बिक्री गरेको खुल्न आएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भईरहेको छ । प्रहरीले सो घटनालाई असामान्य र नौलो ठान्दै थप अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रहरीले हड्डी बिक्री गरिएको स्थान र व्यक्ति सम्बन्धमा खोजी गरिरहेको बताएको छ । प्रारम्भिक अनुमान अनुसार हड्डी अघोरी बाबालाई बेचिएको हुनसक्ने छ, जसले मानिसको हड्डी र मासु मसानमा उपयोग गर्ने गरेको बुझिएको छ ।
यो घटनाले आर्यघाटमा हड्डी चोरी तथा बिक्रीको घटना पहिलो पटक सार्वजनिक भएको प्रहरीको भनाइ छ ।
गौशाला प्रहरी वृत्त, काठमाडौँबाट सुकदेव मल्लले यस घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।















