Advertisement

‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी प्रथम

Share:

म्याग्दी, वैशाख-३,  म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिता ‘अब म पनि बोल्छु’ को उपाधी धवलागिरी गाउँपालिका–७, धारापानीस्थित किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी उर्मिला सुबेदीले जितेकी छिन्।

स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा र बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाले पहिलो स्थान हासिल गरेकी हुन्।

विजेता बनेकी उनले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी द्वितीय तथा अन्नपूर्ण गाउँपालिका–५, शिख माविकी रेश्मा विक तृतीय भएकी छन्। उनीहरूले क्रमशः ३५ हजार र २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बद्री बरुवाल, निर्णायक समितिका सदस्य तथा म्याग्दी बहुमुखी क्याम्पस प्रमुख श्रीधर सुबेदी, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सेनेटर धनञ्जयकुमार श्रेष्ठ, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय महासचिव देबीप्रसाद शर्मा लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगिताको उद्घाटन गर्दै निमित्त प्रमुख खत्रीले युवाको क्षमता अभिवृद्धिका लागि यस्तो कार्यक्रम अत्यन्तै उपयोगी रहेको बताइन्। उनले जिल्लास्तरीय छनोटसम्म आइपुगेका सबै प्रतिभा म्याग्दीका गौरव भएको भन्दै नयाँ प्रतिभाको खोजीमा लाग्ने सबैलाई धन्यवाद दिइन्।

फाइनल प्रतियोगिताअघि म्याग्दीका स्थानीय तहबाट छनौट गरिएका ६ जना प्रतिभालाई भाषणकला र नेतृत्व विकास सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानसहितको एक दिने क्षमता विकास तालिम पनि सञ्चालन गरिएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, शसस्त्र प्रहरी बल गलेश्वरका नायव उपरीक्षक नवराज नेपाल, म्याग्दी जेसीज अध्यक्ष विनोद घर्ती क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बरुवालले शैक्षिक परामर्शसँगै सामाजिक र मानवीय क्षेत्रमा समेत सक्रिय रहँदै आगामी संस्करणमा म्याग्दीका कुना काप्चाबाट नयाँ प्रतिभाको खोजी गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस: