देवी जिसी /बेनी, चैत २२ ।
म्याग्दीको बेनी बजारस्थित वेष्ट पोइन्ट मन्टेश्वरीमा शुक्रबार एक विशेष कार्यक्रमकाबीच दीक्षान्त समारोह सम्पन्न भएको छ। शैक्षिक सत्र २०८१ का लागि कक्षा एक उत्तीर्ण गरेका १४ जना नानीबाबुहरूलाई विधिवत् रूपमा दीक्षित गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बालबालिकालाई पारिवारिक माया र संस्कार सहितको स्नेहमय वातावरणमा शिक्षा प्रदान गर्दै आएको मन्टेश्वरीको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई संस्कार, व्यवहार र आत्मविश्वास विकासतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीबी दाहालले विद्यार्थीसँग सम्बन्धित अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा, र व्यक्तित्व विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार, विद्यालयमा बालविकासका लागि आवश्यक सम्पूर्ण पूर्वाधार, शिक्षण सामग्री तथा बच्चाहरूको स्वास्थ्य परीक्षण र अभिभावक परामर्श सेवासमेत नियमित रूपमा प्रदान गरिँदै आएको छ।
दीक्षान्त समारोहमा सहभागी भएका अभिभावकहरू समेत विद्यालयको शिक्षण प्रणालीबाट प्रभावित देखिए। अभिभावक भरत रकालले मन्टेश्वरीले बालबालिकालाई व्यवहारिक ज्ञान र संस्कार प्रदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “मन्टेसरीले हामीले घरमा सिकाउन नसकेका व्यवहार र आदतहरू बच्चाहरूमा विकास गरिदिएको छ।”
कार्यक्रममा नानीबाबुहरू र अभिभावकहरूले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए। समारोहमा फाउन्डेसनका संस्थापक निर्देशक सुदर्शन कुमार श्रेष्ठ, यज्जनलाल शाक्य, तुलसी श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो।
समारोह फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र मंटेसरी इन्चार्ज थरिमाया पुनको सञ्चालनमा सम्पन्न भएको हो।
वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन अन्तर्गत २०७० सालमा स्थापना भएको वेष्ट पोइन्ट मन्टेश्वरी हाल बेनीबजारको क्याम्पसचोकमा सञ्चालनमा रहेको छ। विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस मन्टेश्वरीमा हाल १०८ जना बालबालिका अध्ययनरत छन्।












