Advertisement

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

Share:

एउटा सामान्य परिवारमा जन्मिएकी म्याग्दीकी छोरी हुँ। गाउँकै माटोमा हुर्किएँ, यहीँका भीर–पाखामा साक्षरता र सिकाइको बीज रोप्दै दुई दशकसम्म शिक्षण पेसामा समर्पित भएँ। विद्यालयको चोकबाट धेरै बालबालिकालाई समाजको जिम्मेवारी बोक्न तयार गरें। तर मनको कुनामा सधैं लागिरहन्थ्यो — शिक्षिका भएर मात्रै गाउँको गहिरा पीडा र मौन आवाजहरू उजागर गर्न सकिँदैन।

त्यसैले एक दिन निर्णय गरें  अब कलमको दिशा फेरिन्छ। २१ वर्षको शैक्षिक यात्रालाई बिदा दिँदै पत्रकारिताको बाटो समाएँ।

पत्रकारिताको सुरुवात सहज थिएन। म्याग्दीको जस्तो दुर्गम जिल्लामा, जहाँ सूचना र सञ्चार अझै विकासोन्मुख अवस्थामा छन्, त्यहाँ महिलाले पत्रकारिताको यात्रामा उभिनु आँधीमा दियो बालेर हिँड्नु सरह हो। सुरुका दिनहरूमा म केवल सदरमुकाममा हुने कार्यक्रमहरूमा पुग्थें, कारण थियो पहुँच, स्रोत, आत्मविश्वास र सामाजिक दृष्टिकोण।

सहकर्मी शिक्षकमित्रहरू पनि अचम्म मान्थे। कोही भन्थे  “शिक्षिकालाई त महिना मरेपछि तलब आइहाल्छ, किन यति दौडधुप?” कोही गिज्याउँदै भन्थे  “अब महिला पनि पत्रकार? के लेख्ने, के कमाउने?”

तर मलाई थाहा थियो, मेरो कलम सधैं उनीहरूको आवाज बन्नेछ — ती आवाजहरू जसलाई कसैले सुन्दैनथ्यो।

हामी थोरै छौं, तर थाकेका छैनौं

मेरोजस्तै केही महिलाहरू अहिले पत्रकारिताको कठिन बाटोमा पाइला चालिरहेका छन्। हामी तालिम लिन्छौं, गाउँगाउँमा रिपोर्टिङ गर्छौं, रेडियोमा बोल्छौं, लेख लेख्छौं। तर हामी पत्रकार महासंघको औपचारिक सदस्य बन्न पाउँदैनौं। हाम्रो श्रम र सीपलाई संस्थागत रूपले स्वीकार्न समाज अझै तयार छैन।

हामीलाई सहभागी बनाउने योजना भनिन्छ, तर व्यवहारमा ती योजना कागजका झोलामै सीमित छन्। कहिलेकाहीँ लाग्छ  हामी अझै पनि ढोका ढक्ढक्याइरहेका छौं, तर त्यो ढोका कसैले खोलिदिएको छैन।

 संवेदनशील आवाजकी प्रतिनिधि

हामी महिला पत्रकारले रिपोर्ट गर्ने विषयहरू सजिला हुँदैनन्  घरेलु हिंसा, बालविवाह, किशोरीको पीडा, महिला स्वास्थ्य र शिक्षा जस्ता विषयहरूमा हामी नजिकबाट महसुस गर्छौं, बुझ्छौं र लेख्छौं। ती विषय पुरुष सहकर्मीले सहजै प्रस्तुत गर्न सक्दैनन्।

हामी संवेदनशील मुद्दाका संवेदनशील प्रतिनिधि हौं। तर जब हाम्रो उपस्थितिलाई संस्थागत रूपमा बेवास्ता गरिन्छ, त्यसले न केवल हामीलाई, यस समग्र समाजलाई समेत असर गर्छ।

हामीलाई दया होइन, अवसर र न्याय चाहिएको हो

दशकौंदेखि पत्रकारितामा लागेका अग्रजहरूप्रति हामी सम्मानित छौं। उनीहरूबाट सिक्ने धेरै कुरा छन्। तर सिकाइको यात्रा त तब सार्थक हुन्छ, जब त्यो अवसरमा रूपान्तरण हुन्छ।

वास्तविकता के हो भने  तालिमपछि अवसर छैन, रोजगारी छैन, स्थायित्व छैन। आर्थिक आत्मनिर्भरताको आधार निर्माण हुन सकेको छैन। यही अभावले गर्दा धेरै महिला साथीहरू पत्रकारिताको बाटोबाट हराउँदै गएका छन्। नयाँ महिलाहरू यो पेसातिर आकर्षित हुन सकिरहेका छैनन्।

यदि यस्तै अवस्था रहिरह्यो भने, ग्रामीण महिला पत्रकारिताको भविष्य अँध्यारो देखिन्छ।

 मौलिक भरोसाको पात्र

म समाचार मात्र लेख्दिन। म मौन आवाजलाई शब्द दिन्छु। गाउँकी महिला मलाई आफ्नो कथा भन्छिन्, किनभने उनी जान्दछिन्  म पनि उनीजस्तै एउटी महिला हुँ। म तिनको भरोसा हुँ, आवाज हुँ।

त्यसैले जब मलाई संस्थागत रूपमा ओझेलमा पारिन्छ, त्यो केवल मेरो अपमान होइन  ती सबै महिलाहरूको मौनताको अपमान हो, जसले कलममा भरोसा गरेका छन्।

अन्त्यमा : संरचना फेरौं, दृष्टिकोण बदलौं

महिला पत्रकारिताको मुद्दा दया वा सुविधा होइन यो प्रतिनिधित्व र न्यायको सवाल हो। पत्रकार महासंघ, सञ्चार संस्था, सरकार र पत्रकार समुदाय सबैले महिला पत्रकारलाई सहभागी मात्र होइन, नेतृत्वदायी भूमिकामा अघि ल्याउने रणनीति बनाउनैपर्छ।

यदि हामी चाहन्छौं कि नेपाली पत्रकारिता लोकतान्त्रिक, उत्तरदायी र समावेशी बनोस् भने — हामीजस्ता महिलाहरूलाई केन्द्रमा राख्नैपर्छ।

म म्याग्दीकी एउटी शिक्षिका हुँ, पत्रकार बनेकी। मेरो यो यात्रा केवल व्यक्तिगत परिवर्तन होइन, यो सिंगो संरचनाको आलोचना हो  र समाज रूपान्तरणको आह्वान पनि।

प्रतिक्रिया दिनुहोस: