फोटो : धौलागिरि खबर |
म्याग्दी, चैत-२५, म्याग्दीको धार्मिक पर्यतिकिया स्थल मालिका धुरी पुग्न सडक निर्माण भएपछी यात्रा छोटिएको छ । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने मालिका धुरीको यात्रा अवधी छोटिएको हो ।
मालिका गाउँपालिका-७ बिम देखि बिमवाङ धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म सडक पुगेपछि मालिका धुरी पुग्ने पर्यटक र भक्तजनलाई सहजका साथै यात्राअवधी छोटिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
सडक धुरी नजिकै पुगेपछि अव मालिकामा पुजाआजा, दर्शन र दृष्य अवलोकन गर्नका लागि अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नु पर्ने बाध्यता हटेको अध्यक्ष गर्बुजाले बताउनुभयो । बिम देखि नागीथला सम्म सडक पुगेपछि गाडीमा १ घण्टा र नागीथला देखि मालिका धुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिने भएको छ।
मालिका गाउँपालिकाले खारा-बिम सडक स्तरोन्नति र मालिका धुरी नजिकैको नागीथलामा सडक पु¥याउन वि.स. २०७८ माघमा दिव्यज्योती-नाना जेभीसँग रु. १ करोड ५९ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दिपक सापकोटाले सो योजना मार्फत नागीथलासम्म २ किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नति गर्ने काम सकिएको जानकारी दिनुभयो ।
वि.स. २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधीको ढिलासुस्ति र लापरबाहीका कारण ढिलाई भएको हो । पछिल्लो पटक काम गर्नुभएका निर्माण कम्पनीका प्रतिनिधी नारायण जि.सी.ले अधिल्ला प्रतिनिधीले २ वर्षसम्म नगरेको काम आफूले २ महिनामै सकेको बताउनुभयो ।
मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ ।
लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ । सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो ।
धौलागिरि खबरको सहयोगमा