जलजला, बैसाख-९, पर्वतको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको बराह ताल पुरिंदा त्यसको शोभा नै हराएको छ । गत वर्ष साउन २५ गते जलजला- ५ स्थित कुवापानीको चिहान डाँडाबाट खसेको पहिरो र लेदोले ताल पुरिनुका साथै ताल संगै रहेको घर्ति कार्कीको कुल मन्दिर समेत जोखिममा परेको हो ।
समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराह ताल तीन रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अङ्ग्रेजी अक्षरको सी आकारको ताल जलजला गाउँपालिकाको सबैभन्दा ठूलोताल हो । कहिल्यै नसुक्ने ताल अहिले लेदोले पुरिंदा एउटा छेउबाट मात्र पानी बगेर गएको छ । तालको बिच भागमा अवस्थित बैंसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ ।
ताल पुरिएपछी सो क्षेत्रको महत्व नै हराएर जाने देखिएको छ । जलजला गाउँ पालिका वडा नं २ का अध्यक्ष प्रकाश जिसीले अहिले ५ लाखको लागतमा पोखरी वरिपरी तार जाली लगाउने काम भएको तर पोखरीको माटो हटाउन, मुलघडेरीको बस्ति ब्यबस्थापन र माथिबाट बग्ने लेदोको ब्यबस्थापनका लागी एकीकृत बजेट आवश्यका पर्ने हुँदा प्रदेश सरकारसंग माग गरेर काम गर्ने बताउनुभयो । उहाँले यस अघि दुइ पटक सम्म प्रदेश सरकारसंग पहिरो नियन्त्रण, ताल संरक्षण र बस्ति ब्यबस्थापनको बारेमा माग गरिएको बताउनुभयो ।
बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल पर्यटकिया स्थल समेत हो तर ताल पुरिंदा अहिले बगर बनेको छ भने घर्ति कार्कीको कुल मन्दिर समेत जोखिममा छ । पहिरोका कारण मूल घडेरीका सात घर परिबार विस्थापित बनेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराह ताल पुग्न सकिन्छ । तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छाया पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।