म्याग्दीमा लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी सम्पन्न

ब्रेकिंग

3/recent/ticker-posts

म्याग्दीमा लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी सम्पन्न

 

देवी जि.सी, म्याग्दी/कात्तिक-२५, हाम्रो परम्परा, हाम्रो पहिचान भन्ने मूल नारासहित लोकवार्ता परिषद्  नेपालको १२औं सङ्गोष्ठी शुक्रवार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजना, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहआयोजना र लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठी म्याग्दीको स्थानीय संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा भएको १२औं सङ्गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले हिमाली जिल्ला म्याग्दी कला, संस्कृति र भेषभूषाले सुसज्जित जिल्लाको रुपमा रहेको बताउनुभयो । उहाँले लाहुरेको जिल्लाको रुपमा चिनिएको म्याग्दीमा रेमिट्यान्स भित्रिनुका साथसाथै विदेशी संस्कृति पनि भित्रिएको बताउँदै परम्परागत कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राज्ञिक तथा बौद्धिक क्षेत्रको कार्यक्रममा आम शिक्षक तथा विद्यार्थीहरुलाई पनि सहभागी बनाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दीमा आयोजित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठीले जिल्लाको कला, साहित्य, लोक, संस्कृतिको संरक्षणमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले लोक, संस्कृति, परम्परा, इतिहास र धर्म संस्कृतिलाई पर्यटनसँग जोड्ने गरी लोकवार्ता परिषद्ले प्रकाशन गर्ने पुस्तक तथा लेख, रचनाहरु स्थानीय तहलाई पृष्ठपोषण र सहयोगी बन्नुपर्ने बताउँदै मौलिक कला तथा संस्कृतिको जगेर्नाका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा लोकवार्ता परिषद् नेपालले इतिहासकार प्राध्यापक डाक्टर कर्णबहादुर बानियाँ, अमूर्त संस्कृति झाँक्री परम्पराका संरक्षक थार्इँला झाँक्रीका नामले परिचित यामबहादुर पूर्जा, थालीनाचका सुरुवातकर्ता हरिमाया पुन र लोकगायिका धनकुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व प्रा.डा. बानियाँ र म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लोकवार्ता परिषद् नेपालका महासचिव ध्रुव भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठीका संयोजक प्रतिभा पुनको अध्यक्षता, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीको स्वागत र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय कलाकारबाट थालीनाच प्रस्तुत गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सञ्चालित कार्यक्रमको मुख्य प्रवर्धक  नेपाल पर्यटन बोर्ड रहेको छ ।

 

यसैगरी स्थानीय सहआयोजकहरुमा बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, धवलागिरि र मंगला गाउँपालिका तथा म्याग्दी बहुमुखी क्याम्पस रहेका छन् । यसअघि लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी बुधवार मालिका गाउँपालिकाको विम र बिहीबार अन्नपूर्णको राम्चेस्थित काफलडाँडामा आयोजना गरिएको थियो ।