पोखरामा आयोजित टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
पहिलो सेट २५-२२ ले जित्दै गण्डकीले अग्रता बनाएको थियो । दोस्रो सेट आर्मीले २५-२१ ले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले टाइब्रेकमा जित्दै अग्रता बनायो । चौथो सेट आर्मीले २५-२३ ले जितेपछि बराबरी भयो । पाँचौ तथा निर्णायक सेट गण्डकीले १५-११ ले जित्दै च्याम्पियन बनेको हो ।
त्यस्सैगरी महिलातर्फ एपीएफलाई सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा पुलिसले एपीएफलाई २५-२२, २५-२२, २५-२१ ले पराजित गरेको हो ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार प्राप्त गरेका छन् ।
यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार प्राप्त गरेका छन् ।