एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दै छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने सम्भावना छ ।
टिममा नियमित सदस्यका रुपमा रहेका अमित मिश्रा कोलकाताविरुद्धको खेलमा घाइते भएका कारण खेल्ने/नखेल्ने निश्चित छैन । त्यसैकारण दिल्लीले आजको खेलमा सन्दीपलाई स्थान दिन सक्ने इन्डियन मिडियाहरुले आँकलन गरेका छन् ।
लिगमा चार खेल खेलिसकेको दिल्लीले सन्दीपलाई हालसम्म स्थान दिएको छैन । अघिल्लो सिजन केही खेलमा स्थान पाएका सन्दीपले यो सिजन लिगको चौथो खेलसम्म आफ्नो स्थान बनाउन सकेका छैनन् ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । दुवै टोलीले लिगमा चार खेल खेलिसक्दा तीन खेलमा जित निकालेका छन् भने एक खेलमा पराजित भएका छन् ।
दिल्ली चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको बैंगलोर नेट रनरेटका आधारमा अंक तालिकाको तेस्रो स्थानमा छ ।
आजको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा रहने योजनामा छ । यता दिल्लीलाई स्तब्ध पार्दे बैंगलोर आफूलाई शीर्ष स्थानमा उभ्याउने योजनामा रहनेछ ।
-बाह्रखरीबाट